काठमाडाैं । मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको जनाएकाे हाे। सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि आइतबारै राति सडक थप भासिएपछि साेमबार बिहानदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको प्रशासनले जनाएकाे छ।
सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको हाे । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् । सडक डिभिजन इलामले जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन नसकेको जनाएकाे हाे ।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।









प्रतिक्रिया दिनुहोस्