२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘चिनियाँ राष्ट्रपति असोजमा नेपाल आउनसक्ने’


0
Shares

काठमाडौं, साउन २५ । नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउनसक्ने जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगलबार बिहान भएको भेटमा टोलीले चीनले वर्तमान सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको स्पस्ट गर्‍यो ।

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिट्टै स्वागत् गर्न पाउने अपेक्षा गर्दै यसबाट द्विपक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

उनले नेपालले चीनसँगको सम्बन्ध भरपर्दो र दीर्घकालीन बनाउनाका साथै दुई ठूला देशसँग त्रिदेशीय सम्बन्ध स्थापित गर्न सरकार इच्छुक रहेको बताएको प्रधानमन्त्रीका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले उल्लेख गरे ।

प्रा. जी झेइको नेतृत्वमा आएको सो टोलीले भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ अनुभवको आदानप्रदान तथा सहयोग गर्न, ठूला परियोजनामा सहयोग उपलब्ध गराउन, चिनियाँ पर्यटकको संख्या बृद्धि गर्न र यहाँको पर्यटन पूर्वाधार विकासका लागि सघाउन चीन तत्पर रहेको पनि जानकारी दिएको थियो । रासस