नवयुग, धुर्मुस–सुन्तलीसहित क–कसले थापे ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ ? (नामावली) • Image Khabar Image Khabar


नवयुग, धुर्मुस–सुन्तलीसहित क–कसले थापे ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ ? (नामावली)


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार २१:४९

नवयुग, धुर्मुस–सुन्तलीसहित क–कसले थापे ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ ? (नामावली)

काठमाडौं, साउन २८ । राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवाव्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरे ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैंचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि खाँदबारी, संखुवासभाका डा. राजु अधिकारी छन् ।

चित्रकला र संगीतका लागि अपांगता भएका अमीर लामा, कला र संगीतका लागि शिव परियार, कृषि (फलफूल)का लागि ओखलढुंगाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ छन् ।

त्यसैगरी, कृषि (पशुपालन)का लागि हाल पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज–अनुसन्धानका लागि काभे्रपलाञ्चोककी डा. सुमन सत्याल छन् ।

साथै खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । जसमा उसुकी निमा घर्तीमगर, जुडोकी फुपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीबाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन संघ छन् । पुरस्कृत सबैले जनही रु एक लाख प्राप्त गरे ।

सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन–२०२५’ एक वर्षभित्र लागू गर्नुपर्ने बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी थप ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

देश विकासमा युवा परिचालन गर्न आग्रह गर्दै उनले भनिन्–‘युवाशक्ति पलायन रोक्न सबै वर्ग र समुदायका युवालाई उपर्युक्त प्राविधिक र जीवनोपयोगी शिक्षा दिँदै स्वदेशमै रोजगारी सिर्जना गराउनुपर्छ ।’

राष्ट्रिय युवा परिषदका अध्यक्षसमेत रहेका मन्त्री श्रीपाइलीले युवा विकासकोे १० वर्षे योजना (युथ भिजन–२५)सँगै ल्याइएका अन्य सबै नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै भने–‘अब युवाका क्षेत्रमा सरकारले लगानी बढाउनेछ ।’

कार्यक्रममा युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले करिब ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरुप आफूहरु काम गरिरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्