
रसुवा, साउन ३० । धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण रसुवाको गोसाईकुण्डमा यस वर्षको मेला शुरु भएको छ ।
वर्षेनि पुत्रदा एकादशीदेखि साउन शुक्ल पूर्णिमाको अवसरमा साताव्यापी लाग्ने मेला यस बर्ष पनि शुरु भएको हो । भूकम्पका कारण अघिल्लो वर्ष करिब दुई हजारले मेला भरे पनि यस वर्ष भने १५ हजारसम्मले मेला भर्नसक्ने अनुमान रहेको गोसाइकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
मेलामा सुरक्षा व्यवस्था बलियो बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
उच्च भागमा लेक लाग्ने र अरु स्वास्थ्य समस्यासमेत आउने हुँदा चन्दनवारी र चोलाङपाटीमा नेपाली सेना र गोसाइकुण्डमा हिमालय उद्धार संघले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । तीर्थयात्रीबाट हुनसक्ने फोहोर संकलन र उनीहरुलाई सहयोग पुर्याउन विभिन्न सामाजिक संस्थाले स्वंयसेवकहरु परिचालन गरेका छन् । गोसाईकुण्डमा हरेक बर्ष गंगा दशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्