२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


भक्तपुरका ऐतिहासिक सम्पदाको पुनर्निर्माण ‘कछुवाको गतीमा’(भिडियो हेर्नुहोस)


0
Shares

-प्रतीक लामिछाने, ईमेज

भक्तपुर, साउन ३१ । महाभूकम्पका कारण ध्वस्त भएका भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा निर्माणको काम कछुवा गतिमा अघि बढेका छन् । भूकम्प गएको १५ महिना पुरा हुँदासम्म पनि पुनर्निर्माणले खासै गतिलिन सकेको छैन ।

अघिल्लो वर्षको बैशाखमा गएको भूकम्पले भक्तपुर जिल्लाभित्रका साना ठूला करीब साढे दुई सय सम्पदा तथा मठमन्दिरमा क्षति पुगेको थियो । ती मध्ये १ सय ६ वटा सम्पदा पूर्ण तथा १२६ मा आंशिक रुपमा क्षति पुगेको थियो । तर अहिले एकाध संरचना मर्मत सम्हारबाहेक पुनर्निर्माण हुन सकेको छैन ।

इतिहास बोकेका कतिपय संरचना अहिले पनि त्रिपालले नै छोपेर राखिएको अवस्थामा छ भने भत्किन लागेका संरचना टेकोकै सहारा अढिएको छ । अहिले मन्दिर तथा ऐतिहासिक महत्वका संरचना निर्माण गर्न पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच भागबण्डा गरिएको छ ।

भक्तपुरको सिद्धिलक्ष्मी मन्दिर, शिलु महादेव, तव सत्तल, कला संग्रहालय, चाँगुनारायण मन्दिरको निर्माण पुरातत्व विभागले गर्नेछ भने बत्सला मन्दिर, दरबार क्षेत्र प्रवेश गर्ने मूख्य द्वार अर्थात् लायकु ढोका, तीन नारायण मन्दिर निर्माणको जिम्मा भक्तपुर नगरपालिकाको भागमा परेको छ ।

यी मध्ये लायकु ढोका निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शिलु महादेवको मन्दिर निर्माणको काम सुरु भएको छ । तर भक्तपुर दरबार क्षेत्रमा विशेष महत्व राख्ने बत्सला मन्दिर, तब सत्तल, सिद्धिलक्ष्मी मन्दिर, कला संग्रहालयलगायतको मर्मत संहारको काम अघि बढेको छैन् ।

यस्तै जर्मन सरकारले करिब एक अर्ब रुपैयाँ खर्च गर्ने गरी निर्माणको जिम्मा लिएको कला संग्रहालयको लाल बैठक, काष्ठ कला संग्रहालयको पुजारी मठलगायतको काम पनि अघि बढेको छैन् ।

तर भक्तपुर सम्पदा विभागका प्रमुख रामगोविन्द श्रेष्ठ भने भूकम्पअघिकै स्वरुप तर विगतको भन्दा आकर्षक र बलियो बनाउने योजना अनुसार काम अघि बढिरहेकाले केही ढिलो भएको जिकीर गरे ।

यसका साथै विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको चाँगुनारायण मन्दिरको अवस्था पनि एक वर्षअघिकै सेरोफेरोबाट गुज्रिरहेको छ ।

विदेशी दाताको सहयोगमा मन्दिर परिसरमा रहेको किलेश्वर महादेवको सानो मन्दिर निर्माण गरिनुबाहेक चाँगुनारायण निर्माणको खासै काम भएको छैन । भूकम्पले चाँगुनारायणको मूख्य मन्दिरमै क्षति पु¥याएपछि अहिले मन्दिर टेकेको भरमा ठडिएको छ ।