२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काभ्रे बस दुर्घटनाः तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, साउन ३१। प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकोप्टर पठाउन निर्देशन दिएका हुन् ।

‘दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकोप्टरमार्फत् उद्धार गर्न निर्देशन दिनुभयो’–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भने ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाएको छ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले नेपाली सेनाको ‘एमआई १७’ हेलिकोप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिए ।

उनकाअनुसार हालसम्म २५ जनाको मृत्यु र अरु ३५ जना घाइते भएको सूचना प्राप्त भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

स्थानीय प्रशासनलाई घाइतेलाई हेलिकोप्टर बस्नसक्ने ठाउँसम्म ल्याइपुर्‍याउन आग्रहसमेत गरिएको थाहाभएको छ । रासस