१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘नेपालको ताजमहल’ जोखिममा


0
Shares

कृष्ण दर्नाल (रासस)

पाल्पा, साउन ३२ । बौघागुम्बा गाविस–२, कालीगन्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमकोनजिक पुगेको छ ।

राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ ।

पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ ।

१ सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैंडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूलो पहिरो बारम्बार खस्दा यो क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो ।

हराभरा सुन्दर, शान्त एवं मनोरम रानीमहल दरबारनजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ ।

धीरशम्शेरका १७ भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको वि.सं. १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्थानजिकै आएको छ ।

महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्नसक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउँछन् ।

भारतको आग्रामा राजा शाह जहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् ।

‘रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेको छ, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्नसक्ने छ । पहिरो पहिलाझैं रानीघाटलाई छलेर दायाँ–बायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल संकटमा पर्नसक्छ’–उनको अनुमान छ ।

सडक विस्तारकाक्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जतिबेला पनि त्यो थुम्को खस्नसक्ने देखिन्छ ।

सडक विस्तारकाक्रममा जथाभाबी माटो फालेपछि खोलाले बगाएको माटोलेसमेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताए ।

करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ ।

विश्वमै विरलै बहने उत्तरबाहिनी नदीकारुपमा रहेको कालीगन्डकी नदी भएकालेसमेत यस क्षेत्रको महत्व अझै रहेपनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाईसमेत असर पर्नेछ ।

रानीमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन् ।

खड्गशम्शेर नुहाउनका लागि जाने कालीगन्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाकारुपमा रहेको छ ।

रानीमहल दरबारको पूर्वतर्फको भागमा खड्गशम्शेरले पूजा गर्ने पूजाकोठाको नमुनामात्र छ ।

तीनतले दरबारमा माथिल्लोतला बैठककोठा र बीचमा खड्गशम्शेरका कोठीहरुले राणाकालीन कला, संस्कृतिको बेजोडको नमुना प्रस्तुत् गर्छन् ।

दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुंगाले निर्मित दुई पोखरी छन् ।

तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गंगाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् ।

युवापुस्ताले रानीमहललाई प्रेमको प्रतीककारुपमा लिन्छन् । प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौं युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् ।

युवापुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीयबासी ताराबहादुर श्रेष्ठले बताए ।