२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


प्रधानमन्त्री दाहालले पहिलो महिनाको तलब ‘धुर्मुस–सुन्तली फाउण्डेसन’लाई दिने


0
Shares

काठमाडौं, भदौ १ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले सामाजिक कार्यमा जुटेका कलाकारद्वय धुर्मुस–सुन्तलीसँगको भेटमा यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले दाहालले धुर्मुस–सुन्तलीलाई भने, ‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु ।’

तत्कालका लागि आफ्नो पहिलो महिनाको व्यक्तिगत तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने उनले बताए ।

भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री दाहालले व्यक्त गरेका छन् । उनले भने, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माण लगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या भए, सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्री दाहालले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवर्द्धक बनाउने बताए ।

भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताएका थिए ।