कुम्भेश्वर मेलामा भक्तजनको घुइँचो • Image Khabar Image Khabar


कुम्भेश्वर मेलामा भक्तजनको घुइँचो


Imagekhabar
२ भाद्र २०७३, बिहीबार १७:४६

कुम्भेश्वर मेलामा भक्तजनको घुइँचो

ललितपुर, भदौ २ । गुंपुन्हि वा जनैपूर्णिमाको अवसरमा ‘कोन्तिइ महाद्यः पुखुली तयेगु’ अर्थात कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलनअनुसार आज ललितपुरको कुम्भेश्वरमा मेला लागेको छ ।

बुधबार राति महादेवको मूर्ति मन्दिरबाट पोखरीमा राखिएको थियो । कुम्भेश्वर मन्दिर परिसरमा रहेको गोसाईकुण्डको जल प्रवाह भइरहेको मानिने करिब ३ फिट ब्यास र ३ फिट जति नै गहिराईको यही कुण्डको पानी जमेको पोखरीको बीचमा महादेवको मूर्ति राख्ने गरिन्छ ।

पूजा गर्न भक्तजनका लागि पुल समेत निर्माण गरिएको हुन्छ भने यो पोखरीमा स्नान गर्नेहरुको संख्या पनि उल्लेख्य देखिन्छ । मेला भर्न गएका भक्तजनहरु आ–आफ्नो धार्मिक मान्यता अनुसार रक्षा वन्धन बाँध्ने, जनै फेर्ने गर्दछन् । मन्दिर परिसर बाहिर ढुंगेधारा रहेको स्थानमा पानी जम्मा गरी सानो पोखरी बनाइएको हुन्छ जहाँ साना बालकहरुको पौडिरहेको देख्न सकिन्छ ।

मूलपोखरी गहिरो हुने कारण यो पोखरी निर्माण गर्ने गरिन्छ । मेला ब्यवस्थापन समितिका अरोजकुमार खड्गीका अनुसार आज मेलामा पछिल्लो समयभन्दा दर्शनार्थीको घुँइचो झनै बढेको छ । मेला भर्न गोसाईकुण्ड पुग्न नसक्नेहरु कुम्भेश्वर आउने गर्दछन् भने यो मेलाको अर्को एउटा आकर्षण दुर्लभ नौ बाजा पनि हो ।

जुन नेपाल सम्वतअनुसार दशौं महिना गुंलामा मनाइने विभिन्न बौद्ध धार्मिक परम्परामा बजाइने गरिन्छ । यो मेलामा तामाङ समुदायका झाक्रीहरुको पनि सहभागिता देखिन्छ भने दिन ढल्दै जाँदा नाचगान गर्नेहरुको समूह पनि यत्रतत्र देखिने गर्दछ । नेपाल प्रहरी, नेपाल स्काउट, नेपाल रेडक्रस, स्थानीय वासिन्दा समेत यो मेला ब्यवस्थापन सक्रिय छन् ।

आजकै दिन नेवार समुदाय नौथरी गेडागुडी पकाएर क्वाति (अर्थ: गेडागुडीको तातो झोल वा रस) खाने गर्दछन् । यो समय खेतीपातीबाट थकित शरीरमा बल शक्ति भर्न र लाग्न सक्ने विभिन्न रोगब्याधिसँग जुध्ने क्षमता विकास गर्न क्वाति खाने चलन रहेको छ भने रोपाईपछि खेतमा लाग्ने विभिन्न प्रकारका हानीकारक किराहरु खाई कृषि उत्पादनमा सघाउने पुर्‍याउने जीव भन्दै भ्यागुतालाई ‘ब्यांजा नकेगु’ अर्थात खाना खुवाउने चलन पनि रहेको छ ।

यो पूर्णिमाको भोलीपल्ट परुवाको दिन सापारु अर्थात गाईजात्रा मनाउने चलन छ भने शनिवार ललितपुरमा श्रृंगभेरी नेकू जात्रा अन्तर्गत चारवटा अशोक चैत्यका साथै विभिन्न विहार, बहिलमा लाइनै बसेर पूरा गर्दै दिनभरी यात्रा गर्ने चलन मतयाः विहान झिसमिसेमै शुरु हुनेछ । यो बर्षको मतयाः चक्रबहिलबाट शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्