नागरिकताभन्दा राहदानी लिने बढी • Image Khabar Image Khabar


नागरिकताभन्दा राहदानी लिने बढी


Imagekhabar
२ भाद्र २०७३, बिहीबार १९:५०

नागरिकताभन्दा राहदानी लिने बढी

बागलुङ, भदौ २ । वैदेशिक रोजगारप्रतिको आकर्षणले बागलुङमा राहदानी लिनेको सङ्ख्या बढेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार नागरिकताभन्दा राहदानी बनाउने बढी छन् । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर रहेको छ ।

राहदानी बनाउने १२ हजार २९ जना हुँदा नागरिकता लिने जम्मा सात हजार ७०६ जना छन् । रोजगारी र अध्ययनका क्रममा विदेश जानेको सङ्ख्या बढेसँगै राहदानी बनाउने बढेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताउ ।

आव २०७१/७२ मा पनि सात हजारले नागरिकता बनाउँदा १५ हजार बढीले राहदानी बनाएका थिए । नागरिकले साधारण र दु्रत गरी दुवै सेवामार्फत राहदानी बनाउने गरेका छन् ।

गत आवमा पनि चार हजार ३१५ जनाले द्रुत सेवा प्रयोग गरी राहदानी लिएका थिए । बाँकीले भने साधारण सेवामार्फत जिल्ला प्रशासन कार्यालयबाटै राहदानी बुझेका थिए ।

द्रुत सेवाका लागि १० हजार र साधारणका लागि रु पाँच हजार दस्तुर लाग्ने व्यवस्था छ । बागलुङमा जिल्ला प्रशासन कार्यालय र बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रबाट राहदानी सेवा दिइने गरिन्छ । राहदानी लिनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ ।

राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । बागलुङका करिब ४० हजार युवा विदेशमा रहेको तथ्याङ्क छ । (रासस)

प्रतिक्रिया दिनुहोस्