
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो ।
रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा. सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा. चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्रलगायतले बहस गरेका थिए ।
उनीहरुले कार्कीको नियुक्ति संविधानविपरीत भएको कुरा राखेका थिए । शुक्रबार (भोलि) ११ बजेदेखि सुरु हुने गरी विहीबारको सुनुवाइ सकिएको छ ।
कार्कीको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका थिए ।
खारेज भइसकेको अधिवक्ता अर्यालको रिट निवेदन सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
नेपाल बार एसोसिएसनको ६०औं दिवस परेको भन्दै कार्कीविरुद्धको मुद्दा सार्नका लागि अधिवक्ता भीमार्जुन आचार्य, माधव बस्नेत, कुमार रेग्मी, सुशील पन्त, कृष्ण सापकोटा, आनन्दराज लम्सालले निवेदन दिएका थिए । तर, आजको सुनुवाइ स्थगित भएन ।
यसअघि, कार्कीको पक्षका अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका कारण सुनुवाइ स्थगित भएको थियो ।
कार्कीका पक्षबाट विहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गरेका थिए । शुक्रबार विपक्षको तर्फबाट बहस हुनेछ ।
कार्कीको नियुक्ति संविधानसम्मत भए/नभएको सुनुवाइपछि निर्णय आउनेछ ।
यसैबीच, मुद्दाको पेसी बुझ्नका लागि सर्वोच्च अदातलमा पुग्दा निलम्बित प्रमुख आयुक्त कार्कीमाथि विहीबार दुई व्यक्तिले कालोमोसो दल्ने प्रयास गरेका थिए ।
कालोमोसो दल्न प्रयास गर्ने दुबैजनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । पेसी बुझ्दै गर्दा कार्कीमाथि कालोमोसो लगाउने प्रयास गरिएको हो ।
दुई युवाले ‘माओवादी जिन्दावाद, भ्रष्टाचारी मूर्दावाद, जनआन्दोलनका दोषीलाई कारबाही गर, हत्यारालाई कारबाही गर’ भन्ने नारासमेत लगाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्