
दीपक श्रेष्ठ र कुमार थापा (इमेज)
काठमाडौं, पुस १३ । आफूलाई बुद्ध अवतार दाबी गर्दै लामो समयदेखि बाराको जंगल क्षेत्रभित्र आश्रम जमाएर बसेका रामबहादुर बम्जनबाट पीडित बनेकाहरुले मुख खोल्न थालेका छन् ।
आश्रममा अवैध गतिविधि हुँदै आएको र बम्जनले त्यहाँ रहने महिलाहरुमाथि यौनशोषण गर्ने गरेको आरोपसमेत लगाइएको छ ।
त्यसमाथि केही व्यक्तिहरु आश्रमबाट बेपत्ता भएकोसमेत खुलासा भएको छ ।
‘तपस्वी’ बम्जनको आश्रममा बस्दै आएका मकवानपुरको हेटौंडा–१४ का सञ्चलाल वाइबा बम्जन, हेटौंडा रंगशालाकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ, बाराका सुरेश आलेमगर सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
उनीहरुमध्ये फूलमाया र कर्मा आनीकारुपमा बस्ने गरेको तथा सञ्चलाल वाइबा र सुरेश आलेमगर बम्जनको अनुयायीकारुपमा आश्रममा बस्ने गरेका थिए ।
तर, लामो समयदेखि सम्पर्कविहीन अवस्थामा रहेपछि उनीहरुका आफन्तले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी खोजी गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।
बम्जनको आश्रमबाट बाहिरिएकी गंगामायाले आफूमाथि बम्जनले पटक–पटक बलात्कार गरेको भन्दै आश्रमभित्रको विकृति सार्वजनिक गरेपछि आफन्तको खोजी गर्दा सम्पर्क नै नभएको उनीहरुको भनाइ थियो ।
बेपत्ता आफन्तको खोजीका लागि मकवानपुर, नुवाकोट र बारा जिल्ला प्रहरीमासमेत जाहेरी दिइसकेको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो पनि उनीहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्