Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं, पुस १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि कृषि बीउ तथा बिजन वितरणमा अनियमितता गरेको, कृषि सामग्री खरिद नै नगरी खरिद गरेको देखाइ ढुवानीसमेत गरेको नक्कली बिल भर्पाइ बनाइ भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उक्त बिल भर्पाइ सदर गरी भुक्तानी लिने–दिने कार्य गरी प्राप्त नभएको सामान आम्दानी बाँधी खर्च देखाइ उक्त बीउ खरिद गर्ने र प्रयोग गर्ने प्रयोजनलाई कार्यालयका कर्मचारी तथा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन कार्यालय प्रमुख डा. घिमिरेले रु १० लाख ५० हजार ९६१, वाग्वानी विकास अधिकृत सूर्यनाथ योगीले रु १८ लाख ३६ हजार ४००, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापाले रु १० लाख तीन हजार २६३, लेखा अधिकृत ढालबहादुर हमालले रु १२ लाख ४६ हजार ४८१, प्राविधिक सहायक गमानसिंह थापाले रु दुई लाख २४ हजार ४३१, वाग्वानी विकास अधिकृत भुवनबहादुर मल्लले रु ७३ हजार ८० र नायबसुब्बा नमराज थापाले रु ८ लाख १२ हजार १७८ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

यस्तै, लेखापाल रामकुमार शाहले रु १६ लाख ९१ हजार ७१७, प्राविधिक सहायक मिमबहादुर शाहीले रु एक लाख ७५ हजार २६२, नायब प्राविधिक सहायक रंगबहादुर वपालले रु ३९ हजार ४५०, प्राविधिक सहायक पूर्णबहादुर थापाले रु तीन लाख ४८ हजार ५५०, सबइन्जिनियर रामप्रसाद शर्माले रु १० लाख २७ हजार ४०२ र ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीले रु २२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायकोसमेत माग गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस