
सुनसरी, मंसिर ६ । सुुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित भएको छ ।
बिहीबार पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मुस्लिम समुदायको शान्ति–सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्ने, हत्यारालाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेलगायतका सहमति स्थानीय प्रशासनसँग भएपछि पीडित परिवारले आन्दोलन स्थगित गरेका हुन् ।
आन्दोलन स्थगित भएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।
यता, स्थानीय प्रशासनले हत्यारा खोज्न सुनसरीभर प्रहरी परिचालन गरिएको र सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाएको छ ।
अहिले सुनसरीको अवस्था सामान्य रहेको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
यसअघि, स्थानीयले बिहीबार पनि धरान–विराटनगर सडकखन्डको दुहबी–सोनापुर क्षेत्र अवरुद्ध पारेर दिनभर प्रदर्शन गरेका थिए । मृतकको शव सडकमै राखेर प्रदर्शन गरिएको थियो ।
बुधबार बिहान ‘मर्निङवाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका थिए ।
छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्