१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


फिदा हुसेनको हत्या विरोधमा दुहबीमा प्रदर्शन जारी


0
Shares

सुनसरी । सुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा स्थानीयले आज पनि प्रदर्शन जारी राखेका छन् ।

स्थानीयले धरान–विराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकखण्डको ठाउँठाउँमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् ।

स्थानीयले हुसेनको शवलाई बाटोमा राखेर पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई कारवाहीलगायतका माग राखेका छन् ।

आक्रोशित व्यक्तिहरुले इनरवामा समेत प्रदर्शन गरेका थिए । घटनालाई लिएर कांग्रेसले पनि ऐक्यवद्धता जनाएपछि आन्दोलन झनै चर्कदै गएको छ ।

यता, दोषी उम्कन नपाउने भन्दै सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

हिजो बिहान मर्निङवाकमा गएको समयमा मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका थिए ।

छातीमा गोली लागेका उनको उपचारका लागि विराटनगरस्थित नोबल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।