
बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर ४ । कैलालीको धनगढी उपमहानगरपालिका–४ का विजय थापाको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै आफन्तले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मृतक थापाका आफन्तले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले अनुसन्धानलाई चुस्त बनाउनुपर्ने मागसमेत गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने आश्वासन दिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भन्दै उनले न्याय पाउनेमा विश्वस्त हुन मृतकका परिवारलाई आग्रह गरे ।
हत्यारा सार्वजनिक गर्न माग गर्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएका आफन्तले अनुसन्धानमा सहयोग गर्ने भन्दै मंसिर १० गतेसम्मका लागि आन्दोलन स्थगित गरेको जनाएका छन् ।
चरणबद्ध आन्दोलनका कार्यक्रम स्थगित गरिएपनि जिल्ला प्रहरी कार्यालय कैलालीअगाडि दैनिक एक घन्टा धर्ना दिने कार्यक्रम भने यथावत् रहेको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका–४ स्थित सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुखको कार्यालयनजिकै शुक्रबार राति थापाको शव फेलापरेको थियो ।
थापाको शव घिसारीरहेको अवस्थामा प्रहरीले सोही वडाका आशिष सेटीलाई तत्कालै पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई सार्वजनिक नगरी बचाउने चलखेल भइरहेको मृतकका आफन्तको आरोप छ ।
घटनालाई पैसा र राजनीतिक शक्तिका आडमा ढाकछोप गर्न खाजेको भन्दै विजय थापा न्यायिक संघर्ष समितिले हत्या भएदेखि नै आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्