
काठमाडौं, मंसिर ४ । महानगरीय प्रहरी परिसरले ज्यानमार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
परिसरको टोलीले वि.सं. २०६३ मंसिरमा कीर्तिपुरकी १४ वर्षीया सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई मंगलबार पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यानमार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए ।
बस्नेत यसअघि लागुऔषध र ज्यानमार्ने उद्योगमा जेलजीवन बिताइसकेका व्यक्ति भएको परिसरले जनाएको छ ।
१५ जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त महाराजगन्जले रु सात लाख १५ हजार ४०० नगदसहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले टोखा नगरपालिका–८, गैरीगाउँका जीवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टोखाका रमेशबहादुर श्रेष्ठ, शंकर खत्री, रविन कार्की, युवराज अधिकारी, रञ्जन ढकाल, हरि जोशी, अविक राई, भोजपुरका टेकेन्द्र कार्की, चितवनका रमेश भुजेल, महेश भुजेल, दिनेश लामा, मोरङका कुलबहादुर दाहाल र गोरखाका सविन गुरुङ रहेका छन् ।
वृत्तका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइँले कौडा एकसेट र एकबुक ताससहित पक्राउ गरेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्