१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


जग्गा ठगी मुद्दाका दोषी कारागार चलान


0
Shares

काठमाडौं, मंसिर ४ । जग्गा ठगी मुद्दामा दोषी ठहर भइ फरार रहेका एक व्यक्ति मंगलबार कारागार चलान भएका छन् ।

भक्तपुरको सिपाडोलका सरोज तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी मंगलबार जिल्ला अदालतमा पेस गरेकामा उनलाई मंगलबारै जेल चलान गरिएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए ।

उनलाई ब्यूरोको टोलीले सोमबार काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको थियो ।

भक्तपुर जिल्ला अदालतले २०७२ साल वैशाख ६ गते ६ महिना कैद तथा रु पाँच लाख २५ हजार जरिवाना हुने ठहर गरे पनि उनी फरार हुँदै आएका थिए ।

वि.सं. २०७० मा उनीसहितका व्यक्तिहरुले सिपाडोलकी सानुमाया तामाङको नाममा रहेको जग्गालाई नक्कली नक्सा ब्लुप्रिन्ट निकालेर मनोरमा लिम्बूको नाममा राजीनामा पास गराइ रु २५ लाख ठगी गरेको आरोपमा मुद्दा परेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा संलग्न सिपाडोलका इन्द्रबहादुर लामा र अंगत खत्रीलाई ब्यूरोको टोलीले गत असोज ६ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरेकामा अदालतले उनीहरुलाई यसअघि नै जेल चलान गरिसकेको छ । रासस