२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


व्यापारीको ९ लाख लुटियो


0
Shares

बर्दिवास, कात्तिक २५ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–५, सीतापुर बजारका व्यापारी रामकुमार साहको रु ९ लाख नगद रकम आइतबार दिउँसो लुटपाट भएको छ ।

सीतापुर बजारमा आइएमई सन्चालन गर्दै आएका साह धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम लिएर घरतर्फ आउँदै गर्दा महोत्तरी र धनुषाको साँधमा पर्ने बिग्हीपुलमा हतियारधारी चारजनाको समूहबाट लुटिएका हुन् ।

मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईओटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको ९ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ ।

लुटेराहरुले बाटो छेकेर पेस्तोल देखाउँदै रकम लगेका साहले बताए ।

घटनालगत्तै सीतापुर प्रहरीचौकी र सशस्त्र प्रहरी बेस क्याम्प भंगाहाबाट सुरक्षाकर्मी घटनास्थल पुगे पनि लुटेरा भागेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनास्थल वरिपरि र अन्य शंकास्पद ठाउँमा लुटेराको खोजीमा प्रहरी परिचालित गरिएको जिप्रका महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटना आइतबार दिउँसो करिब ३ बजेको समयमा भएको प्रहरीले जनाएको छ । रासस