Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेवार समुदायका ४० थरलाई दलित सूचीमा राखिएको भन्दै काठमाडौं नेवार समुदायको विरोध प्रदर्शन


0
Shares

काठमाडौं । बिना अध्ययन काठमाडौंका नेवार जातिलाई दलित सूचिमा समावेश गरिएको भन्दै उपत्यकाका नेवार समुदायले सरकारको विरोध गरेका छन् ।

शनिवार काठमाडौंको असन डबलीमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी सुशन वैद्यले सरकारले नेवारहरुका ४० वटा थरलाई दलित सूचिमा समावेश गरेकाले त्यो स्वीकार्य नरहेकाले विरोध गरेको बताउनुभयो । सूचिकृत गर्दा दलित आयोगले कुनै समुदायसँग छलफल नगरी र वैज्ञानिक अध्ययन बिना नै हचुवाको भरमा दलित घोषणा गर्नु अन्याय र विभेदकारी रहेको बताउनुभयो ।

नेवार समुदायमा दलित र उपेक्षित नरहेको बताउनुभयो । समाजलाई बिगार्नका लागि सरकार लागेको भन्दै उहाँले आफूहरुलाई यो कुरा स्वीकार्य नहुने बताउनुभयो । निर्णय नसच्चिए नेपाली काँग्रेस अझै कडा विरोधमा उत्रिने चेतावनी दिनुभयो । नेपाली काँग्रेसका काठमाडौं महानगरपालिका सभापति समेत रहनुभएका उहाँले नेवार समुदाय आफैँ एउटा राज्य रहेको र काठमाडौंमा रहेका समुदायलाई भाँड्ने काममा सरकार लागेको बताउनुभयो ।

प्रदर्शनमा आउनुभएकी नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. अमिता प्रधान शाक्यले नेवारहरुको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताउनुभयो । उहाँले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गर्नुभयो । देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उहाँले यस किसिमको निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा सरकारले रवैया देखाएको आरोप लगाउनुभयो ।

समुदायको पहिचानमाथि आक्रमण गर्नु सरकारका लागि राम्रो नहुने बताउनुभयो । सरकारमा रहेका व्यक्तिहरु कतिसम्म गैरजिम्मेवार छन् भन्नेकुरा यसबाटै थाहा हुने उहाँको भनाइ छ । यसले भविष्यमा जातीय द्वन्द्व निम्त्याउनसक्ने चेतावनी दिनुभयो ।

नपाली काँग्रेसकी केन्द्रिय सदस्य सपना राजभण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा बिना अध्ययन र अनुसन्धानमा ल्याइएको बताउनुभयो । समुदायसँग कुनै परामर्श नगरिएको र मानिसको भावनामा ठोस लागेको बताउनु भयो । आन्दोलनको रुपमा आगामी दिनमा झनै बढ्दै जाने चेतावनी दिनुभयो । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पुर्‍याउनु नहुने बताउनुभयो ।

उनीहरुले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले दलित आयोग खारेज गर्न माग समेत गरेका छन् ।