Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


पोखरा–बागलुङ सडकमा लगातार पहिरो, दोस्रो दिन पनि आवागमन ठप्प


0
Shares

विजय नेपाली, पोखरा । पोखरा–बागलुङ सडकखण्डमा लगातार दुई दिन पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित घट्टेखोलामा आइतबार र सोमबार सडक माथिबाट सुख्खा पहिरो खसेको हो। पहिरोका कारण सडकमा यातायात सञ्चालन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

आइतबार बिहान ९ बजेर ५ मिनेटमा पहिलोपटक पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। त्यसपछि प्रहरी, स्थानीयवासी, जनप्रतिनिधि तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाएर सडक खुलाइएको थियो।

सोही दिन बिहान १० बजेर ५५ मिनेटमा एकतर्फी र दिउँसो २ बजेर ३० मिनेटमा दुवैतर्फी सवारी सञ्चालनमा आएको थियो। सडक खुलेको एक दिन नबित्दै सोमबार दिउँसो ३ बजे सोही स्थानमा पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

लगातार पहिरो खसिरहेका कारण उक्त सडकखण्डमा यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।

Skip This