काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै गृह मन्त्रालयले देशभर २४ घण्टासम्म देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार (कात्तिक २३ गते) गरेको सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै परम्परागत देउसी–भैलो कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न आग्रह गरेको हो।
मन्त्रालयको पत्रमा नेपाली मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धन तथा सामाजिक सद्भाव कायम हुने गरी अनुशासित र मर्यादित ढङ्गले देउसी–भैलो खेल्ने वातावरण बनाउन भनिएको छ।
देउसी–भैलो कार्यक्रम स्वेच्छिक हुनुपर्ने र कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ। त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने किसिमका अश्लील गीत, नृत्य, सङ्गीत तथा नाराको प्रयोगमा रोक लगाउन निर्देशन दिइएको छ।
मन्त्रालयले चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न पनि प्रशासनलाई भनेको छ।
त्यसैगरी, अत्यधिक आवाजमा साउण्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा र वातावरणीय स्वच्छता कायम राख्दै जथाभावी फोहोरमैला नगर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
यसअघि जारी गरिएको सूचनाको पूर्ण पालना गर्नसमेत मन्त्रालयले स्मरण गराएको छ। देउसी–भैलो खेल्ने वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा अन्य समस्या देखिए तत्काल प्रहरीको १०० नम्बर वा आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको छ।










प्रतिक्रिया दिनुहोस्