Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै


0
Shares

काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीकी संसदीय राज्यसचिव डा। बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले नेपाल–जर्मनी विकास साझेदारी, महिला अधिकार, स्वास्थ्य सेवा र भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुहुनेछ।

नेपालस्थित जर्मनी दूतावासका अनुसार कोफ्लरले सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटघाटमा दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि जर्मनी सरकारले एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ। उक्त रकम तत्काल मानवीय सहायता परिचालन गर्न, स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आवश्यकता पूरा गर्न र दीर्घकालीन पुनर्निर्माण तथा विकासका काममा उपयोग गरिने जनाइएको छ।

बाढीले पारेको असर र प्रभावित नागरिकको अवस्थाबारे बुझ्न कोफ्लरले नुवाकोटको भ्रमण गर्नुहुनेछ। त्यहाँ उहाँले स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी र प्रभावित समुदायसँग भेटेर राहत, पुनःस्थापना तथा मानवीय सहायताका आवश्यकताबारे जानकारी लिने कार्यक्रम रहेको छ।

काठमाडौंमा रहँदा उहाँले जर्मनीको विकास सहयोगमा सञ्चालित स्वास्थ्य संस्थाहरूको अवलोकन गर्नुका साथै स्वास्थ्य क्षेत्रका सरकारी निकाय र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ। यस क्रममा नेपालको विकास अवस्था, आगामी प्राथमिकता र विद्यमान चुनौतीबारे पनि जानकारी लिने बताइएको छ।

भ्रमणको कार्यसूचीमा गत वर्षको जेनजी आन्दोलन र नेपालमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयसमेत समेटिएका छन्। विभिन्न क्षेत्रका प्रतिनिधिसँगको छलफलबाट नेपालको विकास आवश्यकता र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने अपेक्षा गरिएको छ।

कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य हुनुहुन्छ। उहाँ सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीकी संसदीय राज्यसचिवका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आउनुभएको छ।

यसअघि सन् २०२२ मा पनि उहाँले नेपालको भ्रमण गर्नुभएको थियो। यसपटकको भ्रमणले नेपाल र जर्मनीबीच लामो समयदेखि कायम विकास साझेदारीलाई थप सुदृढ बनाउने तथा जारी सहकार्यलाई नयाँ प्राथमिकतासहित अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Skip This