काठमाडौं । रसुवामा आएकाे भीषण बाढीबाट प्रभावित नागरिकहरुको सहयोगका लागि सिक्किमबाट ल्याइएको राहत सामग्री वास्तविक पीडितहरु कहाँ पुग्न थालेको छ।
सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को विशेष पहल तथा निर्देशनमा पठाइएको उक्त राहत सामग्री लिएर सिक्किमबाट आएको विशेष प्रतिनिधिमण्डलले काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट गरेको छ।

सिम्फेद (SIMFED) सिक्किमका अध्यक्ष तेन्जिङ दोर्जी ज्यूको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले काठमाडौंमा सभापति लामिछानेसँग भेटवार्ता गरी उक्त मानवीय सहायता र उपहार औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
भेटका क्रममा सभापतिले विपद्को यस कठिन समयमा सिक्किम राज्य र मुख्यमन्त्री गोलेबाट प्राप्त भएको मानवीय सहायताप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ।

उहाँले छिमेकीबाट प्राप्त यो सद्भाव र भाइचाराले पीडितहरूको घाउमा मल्हम लगाउने काम गरेको बताउनुभयो। यसअघि सिक्किमका मुख्यमन्त्री गोले र रास्वपा सभापति लामिछानेबीच टेलिफोन संवाद समेत भएको थियो ।
राहत सामग्रीमा कुनै पनि किसिमको ढिलाइ, लापर्बाही वा अनियमितता हुन नदिनका लागि विशेष सावधानी अपनाइएको छ। सिक्किमबाट आएको यो सहयोगले नेपाल र सिक्किमबीचको जनस्तरको आत्मीय सम्बन्ध थप प्रगाढ बनाएको महसुस गरिएको छ।









प्रतिक्रिया दिनुहोस्