Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षमः नेता दंगाल


169
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षम भएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सुरुङमा फसेका नागरिकको समयमै उद्धार गर्न नसक्नु सरकारको गलत निर्णय र नीतिको परिणाम भएको दाबी गर्नुभयो ।

दंगालले अन्तर्राष्ट्रिय उद्धार टोली र प्रविधि समयमै प्रयोग गर्न नसक्दा सुरुङमा फसेका धेरै मजदुरको ज्यान गएको आरोप लगाउनुभयो ।

उहाँले यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र सरकारलाई जवाफदेही बनाउनुपर्ने माग गर्नुभयो । उहाँले गत वर्षको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबारे निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने पनि बताउनुभयो ।

आन्दोलनको नाममा हिंसा, आगजनी, लुटपाट र सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको योजनाकार तथा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कारबाही गर्नुपर्ने उहाँको माग छ ।

दंगालले वर्तमान सरकार अध्यादेशमार्फत शासन गर्न खोजिरहेको आरोप लगाउँदै सुकुम्बासी व्यवस्थापन, महँगी र ग्यास अभावप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र ग्यास अभाव नियन्त्रण गर्न तत्काल राहत तथा वितरणको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।