काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्नुभएकाे छ।
संयोजक दाहालले बुधबार साेही घटनाकाे बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गर्नुभएको हाे। भदौ २४ को घटनाको स्मरण गर्दै उहाँले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएकाे छ। संयोजक दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्वको पहिचान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घटना भएको एक वर्ष बितिसक्दा पनि त्यस दिशामा अपेक्षित काम हुन नसकेको बताउनुभएकाे छ।
संयोजक दाहालले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाउनुभयो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याउने काम भएको उहाँको भनाइ छ । भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनाक्रमलाई फरक ढंगले बुझ्नुपर्ने बताउनुभयो । उहाँले भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई अपहरण र कब्जा गर्ने शक्तिको हालीमुहाली देखाएको समेत जिकिर गर्नुभएकाे छ।
उहाँले भन्नुभयाे,-‘भदौ २४ को घटना रहस्यमय छ’ भन्दै दाहालले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम समेत रहेको छ। वर्तमान भू–राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता भयाे। राष्ट्रिय दृष्टिकोणबाट सुरक्षा निकायको भूमिका, राजनीतिक नेतृत्वको भूमिका लगायत घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्नेमा जाेड छ। नेपालको इतिहासमा एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण आफूलाई थाहा नभएको तर्क छ।’
संयोजक दाहालले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबै भन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गर्नुभयो ।उहाँकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उहाँले बताउनुभयो । घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह–पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएकाे छ।
संयोजक दाहालले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ बनाउन देशका सबै राजनीतिक शक्ति, देशभक्त तथा आम नेपाली जनता एक भएर अघि बढ्नुपर्नेमा दिनुभयाे।









प्रतिक्रिया दिनुहोस्