Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


बाढी पीडितहरुलाई सौर्य व्यवसायीहरूले दिए ‘उज्यालो कोशेली’


923
Shares

काठमाडौं । रसुवा बाढी पीडितको सहयोगका लागि सौर्य ऊर्जा व्यवसायीहरूले ‘उज्यालो कोशेली’ पठाएका छन् । सौर्य ऊर्जा व्यवसायीहरूको साझा संस्था नेपाल सौर्य विद्युत उत्पादक संघले बाढी पीडितहरूको लागि उज्यालो कोसेलीको रूपमा लोसार सिस्टम पठाएको हो ।

विपद् प्राधिकरणले अति आवश्यक भनेको लोसार सिस्टमहरू बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बाढी पीडितहरूका लागि पठाइएको सङ्घका अध्यक्ष भरत मल्लले बताए । उनका अनुसार उक्त सामाग्री नेपाल सरकार ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत मङ्गलवार प्रभावित क्षेत्रमा पठाइएको हो ।

वरिष्ठ उपाध्यक्ष दीपक गौतमका अनुसार बाढी पीडितको सहयोगार्थ अत्यावश्यक सौर्य बत्तीहरू २० वाटको पोर्टेवल लाइट १०५ सेट, संस्थागत सौर्य प्रणाली २ किलो वाटको १ सेट आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

सङ्घका महासचिव नेत्र खत्रीले उज्यालो लागि लोसार सामाग्रीहरू जुटाउन सहयोग र समन्वय गर्ने सदस्य कम्पनीहरूलाई धन्यवाद दिए ।