Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग


1.1k
Shares

काठमाडाैं । सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बैठकमा ‘शुन्य समय’ मा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गर्नुभयो । उहाँले सरकार र मन्त्रीका भान्सामा अभाव नहुने तर जनताको चुलो नबल्ने अवस्थाको अन्त्य गर्न माग गर्दै पारदर्शी वितरण प्रणाली र कालोबजारी नियन्त्रणका लागि सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।

सांसद रञ्जित कर्णले ग्यासको हाहाकारसँगै विद्युतीय चुलो प्रयोग गर्न पनि ट्रान्सफर्मरले नधान्ने र दाउरा खोज्न वन ऐनले रोक्ने अवस्था रहेको उल्लेख गर्दै जनताले विकल्प नपाएकोमा आक्रोश व्यक्त गर्नुभयो । सांसद रोशनी मेचेले पनि झन्डै दुई तिहाईको सरकार हुँदा समेत नागरिकले आधारभूत आवश्यकताका लागि सास्ती भोग्नुपरेको भन्दै यसबारे सदनमा जवाफ दिन सरकारसँग माग गर्नुभयो ।

बैठकमा प्राकृतिक विपत्तिका कारण भएका क्षतिको विवरण पनि प्रश्तुत गरियो । सांसद मीना सिंह राखालले साउन २८ गतेदेखि परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ र जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोमा परी ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको जानकारी दिनुभयो ।

उहाँले थवाङमा ११ घर पुरिएको र १३ जना बेपत्ता भएकोमा हालसम्म चार जनाको शव फेला परेको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । यस्तै, सांसद वासुदेव घिमिरेले विपद् प्रभावितलाई निःशुल्क औषधि उपचार र विस्थापित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद चन्द्रबहादुर केसीले लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सम्बन्धित दललाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन समेत आग्रह गर्नुभयो ।

सांसद रामकुमारी झाँक्रीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत भइरहेको ‘डिफेमिङ’ (मानमर्दन) र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई बाँच्न गाह्रो हुनेगरी भइरहेको चरित्र हत्याको प्रवृत्तिले सामाजिक मर्यादामा ह्रास पुगेको टिप्पणी गर्नुभयो ।