Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


जाजरकोटमा औषधि व्यवसायीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा ५ जना प्रहरीकाे नियन्त्रण


325
Shares

काठमाडाैं । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ।

भेरी नगरपालिका–११, जगतीपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा गत साउन २८ गते मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिका–१०, नुवागाउँमा गत साउन २५ गते राति कुटपिटको घटना भएको जनाएकाे छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्री, भेरी नगरपालिका–९ का २१ वर्षीय नीरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाईं, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाईं रहेका हुन् ।

पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अदालतबाट म्याद थप भएसँगै घटनाको थप अनुसन्धान अघि बढाइएको हाे । प्रहरी कार्यालयले कुटपिटको कारण, घटनामा संलग्न व्यक्तिहरूको भूमिका तथा घटनासँग सम्बन्धित अन्य पक्षकाे बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।