Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नेकपा नेता खगराज भट्ट नियुक्त, शपथ आजै हुने


221
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएकाे छ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएकाे थियाे। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गर्नुभएकाे हाे।

दावी पेश गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएकाे छ। नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको हाे। मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन्। नेकपा र एमालेबीच यसअघि नै मन्त्रालयको भागबण्डामा सहमति भइसकेको छ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय तथा एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउने भएकाे हाे । एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने स्रोतले जनाएको छ।

यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गुमेपछि दबाबमा परेका कमल बहादुर शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएकाे थियाे।