Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


खोटाङमा सर्पदंशको उपचार नहुँदा स्थानीय बासीलाई सास्ती

जिल्लामै सर्पदंश उपचार केन्द्र स्थापना गर्न स्थानीयबासीकाे माग

156
Shares

सविना परियार-संवाददाता

खोटाङ । खोटाङमा शर्प दंशको उपचार नहुँदा अन्यत्र जानु पर्दा स्थानीयबासीले सास्ती खेप्नु परेको छ ।

विभिन्न प्रकारका सर्पले टोकेपछि जिल्लामा उपचार हुन नसक्दा अन्यत्र जानु पर्दा स्थानीयबासी सास्ती खेप्न परेको हो । आफूलाई सर्पले टोक्दा जिल्लामा सर्प दंशको उपचार हुन नसकेपछि उदयपुरकाे गाईघाटस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी पुग्नु परेको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले बताउनुभयाे। उक्त ठाउँमा राम्रो उपचार हुने भए पनि त्यहाँसम्म पुग्नका लागि सास्ती खेप्नु परेको उहाँकाे भनाइ छ । प्रमुख खत्रीलाई गत असार ३२ गते राति दिक्तेल बजारमा हिंड्दै गर्दा सर्पले टोकेको थियो ।

खोटाङमा सर्प दंशको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ । जिल्ला अस्पताल खोटाङका मेडिकल रेकर्डर नन्दराम घिमिरेले वर्षेनी सर्प दंशका बिरामी बढ्दै गएकाे बताउनुभयाे। आर्थिक वर्ष २०८०/८१ मा १६ महिला, १२ पुरुष गरी २८, आर्थिक वर्ष २०८१/८२ मा १३ महिला, १८ पुरुष गरी ३१, आर्थिक वर्ष २०८२/८३ मा २१ महिला र १८ पुरुष गरी ३९ जना सर्प दंशका बिरामी जिल्ला अस्पतालमा आएको उहाँले बताउनुभएकाे छ।

खोटाङमा पाइने स्थानीय भाषामा गुर्बे र हरेउ लगायतले टोकेको पाइन्छ । यसका साथै पछिल्लो अवधिमा राजगोमन जस्ता ज्यानै लिने सर्प पहाड उक्लिएपछि जोखिम बढेकाले जिल्लामै सर्प दंश उपचार केन्द्र स्थापना गर्नु पर्ने स्थानीयको माग छ।
पहिले पहाडमा विसालु सर्प नभएकाले सर्प दंश उपचार केन्द्र पनि नराखिएको जनाइएकाे छ।

तर जलवायु परिवर्तनका कारण पछिल्लो समय तराईका विसालु सर्प पहाड चढ्दै गएकाले सर्प दंश उपचार केन्द्रका लागि पहल गर्नु पर्ने अवस्था आएको जिल्ला अस्पताल व्यवस्थापन समिति खोटाङका अध्यक्ष तथा जिल्ला सममन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयाे।