गीताञ्जली अधिकारी, चितवन । खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) चितवनले शनिबार भरतपुरको चौबीसकोठीमा खाली ग्यास सिलिण्डर गुडाउँदै विरोध प्रदर्शन गरेको छ।
बजारमा ग्यासको अभाव बढ्दै गएपछि उपभोक्ताले सिलिण्डरका लागि लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था आएको भन्दै विद्यार्थीले सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीले ‘जनतालाई चुल्हो बाल्न देऊ’, ‘भात पकाएर खान देऊ’ लगायतका नारा लगाएका थिए। उनीहरूले ग्यासको आपूर्ति तत्काल सहज बनाउनुपर्ने, उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनुपर्ने र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।
अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष सुशील कार्कीले ग्यासको एउटा सिलिण्डर लिनसमेत सर्वसाधारणले दिनौंसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। जनताले भोगिरहेको यही समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन खाली सिलिण्डर सडकमा ल्याएर प्रदर्शन गरिएको उनले बताए।
उनका अनुसार चितवनसहित देशका विभिन्न स्थानमा ग्यासको आपूर्ति नियमित हुन सकेको छैन। ग्यास उद्योग तथा डिलरमा खाली सिलिण्डर बोकेर उपभोक्ताको लामो लाइन लाग्ने गरेको र कतिपय अवस्थामा एक सातासम्म पनि ग्यासको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उनले बताए।
“जनता एउटा सिलिण्डर लिनका लागि लाइनमा बस्नुपर्ने बाध्यतामा छन्। घरमा खाना पकाउने ग्याससमेत सहज रूपमा नपाउने अवस्था आउनु गम्भीर विषय हो,” कार्कीले भने, “सरकारले तत्काल आपूर्ति व्यवस्था सहज बनाउनुपर्छ।” विद्यार्थी संगठनले ग्यास अभावसँगै किसानले भोग्दै आएको मलको समस्यालाई पनि प्रदर्शनको विषय बनाएको छ। खेती गर्ने समयमा किसानले आवश्यक मल नपाउने अवस्था अन्त्य गरी समयमै मल उपलब्ध गराउनुपर्ने माग उनीहरूले गरेका छन्।
त्यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थामा सर्वसाधारणले सहज रूपमा उपचार पाउने व्यवस्था मिलाउनुपर्ने माग पनि विद्यार्थीले अघि सारेका छन्। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका ग्यास, मल र स्वास्थ्य उपचारजस्ता आधारभूत विषयमा सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने उनीहरूको भनाइ छ। ग्यासको आपूर्ति र वितरण प्रणाली प्रभावकारी हुन नसक्दा उपभोक्ता बढी प्रभावित भएको विद्यार्थी संगठनले जनाएको छ। उद्योग र डिलरमा ग्यास आएपछि पनि वितरणको स्पष्ट व्यवस्था नहुँदा लामो लाइन लाग्ने गरेको उनीहरूको भनाइ छ।
अभावको समयमा कालोबजारी तथा कृत्रिम अभाव हुन सक्ने भन्दै विद्यार्थीले बजार अनुगमनलाई प्रभावकारी बनाउनसमेत माग गरेका छन्। ग्यासको वास्तविक अवस्था सार्वजनिक गर्दै उपभोक्तालाई पारदर्शी र व्यवस्थित रूपमा ग्यास वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ।
ग्यासको अभावले सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको विद्यार्थीको भनाइ छ। खाना पकाउने ग्यास नियमित रूपमा उपलब्ध नहुँदा घरपरिवारसँगै होटल, रेस्टुरेन्ट, छात्रावास तथा अन्य संस्थासमेत प्रभावित भएका छन्। विद्यार्थी संगठनले ग्यास आपूर्ति सहज बनाउन सरकार, ग्यास उद्योगी, वितरक र डिलरबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
उपभोक्ताले खाली सिलिण्डर लिएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।
अखिल (क्रान्तिकारी) चितवनले जनजीविकासँग जोडिएका समस्या समाधानका लागि सरकारलाई दबाब दिन प्रदर्शन गरिएको जनाएको छ। ग्यास अभाव, मलको समस्या तथा स्वास्थ्य सेवामा देखिएका कठिनाइजस्ता विषयमा सरकार गम्भीर नबने आगामी दिनमा पनि जनताको पक्षमा आवाज उठाउने विद्यार्थी संगठनले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्