Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील

पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता

26
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे अपील गर्नुभएकाे हाे । ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयाे । उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्री शाहको आग्रह छ ।

एक-अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड थियाे । प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।

साेही घटनापछि सुनसरी अशान्त बनेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाएको हाे ।