Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


सैन्य तनावका बाबजुद पनि अमेरिका र इरानबीच वार्ता जारी: ह्वाइट हाउसकी प्रेस सचिव लेभिट


26
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दो सैन्य तनावका बाबजुद दुई देशबीचको वार्ता प्रक्रिया जारी रहेको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार आयोजित पत्रकार सम्मेलनमा इरानले अझै पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गर्न इच्छुक रहेको अभिव्यक्ति दिएको जानकारी दिनुभएकाे हाे। प्रेस सचिव लेभिटले दुई पक्षबीच संवाद भइरहेको भएपनि अमेरिकाले आफ्नो सुरक्षा चासोमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको बताउनुभयाे।

यसअघि बुधबार राष्ट्रपति ट्रम्पले सन् २०२४ डिसेम्बरदेखि इरानको हिरासतमा रहेका एक अमेरिकी नागरिकलाई रिहा गरेकोमा इरानलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त रिहाइलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधारको सम्भावित शुरुवातका रूपमा हेरिएको छ । यद्यपि, कूटनीतिक संवादकाबीच सैन्य कारबाही पनि जारी रहेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी सैन्य क्षमतालाई कमजोर तुल्याउने उद्देश्यले बिहीबार दिउँसो २ बजेदेखि नयाँ चरणको हवाई आक्रमण शुरु गरिएको छ । इरानमाथि अमेरिकाले गरेको यो लगातार छैठाैं रातको आक्रमण हो ।