Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


बाढीको जोखिम रहेका क्षेत्रमा बेलिब्रिज राख्दा विपद्को खतरा : सडक विभाग


0
Shares

काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुनसक्ने चेतावनी दिनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बेलिब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराउनुभएको हो । महानिर्देशक जैसीकाअनुसार बेलिब्रिज निर्माण गर्दा आवश्यक पर्ने बलियो फाउण्डेसन र त्यसको सुरक्षाका लागि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ ।

उहाँले रसुवागढी नाकाको उदाहरण दिँदै बेलिब्रिज निर्माणका लागि ठूलो खर्च र लामो समय लाग्ने औँल्याउनुभयो । साथै, बर्खा लाग्नुपूर्व नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले यसले थप आर्थिक भार र प्राविधिक जटिलता निम्त्याउने उहाँको तर्क छ । विभागले नियमविपरीत र बजेटको सुनिश्चितता नहुँदा पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ । हामीले मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरेका हौँ । तर अहिले बेलिब्रिज राख्ने निर्णय गर्दा आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

उहाँले ढुङ्गेवामा भइरहेको काम तिहारलगत्तै दुई हप्ताभित्र सम्पन्न हुने विश्वास दिलाउँदै, सबै पक्षको समन्वयमा मात्रै निर्णय लिनुपर्नेमा जोड दिनुभयो ।

Skip This