Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेपाल सरकारले एडीबीसँग १६ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने


26
Shares

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा साेमबार राति आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबीच दुई वटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो । उक्त सहुलियत पूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुने भएकाे छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका थिए ।

साेही सम्झौता अनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’ का लागि ११ करोड ५० लाख अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि ५ करोड अमेरिकी डलर परिचालन गरिने भएकाे छ । अर्थमन्त्री डा.वाग्लेले नेपालको दिगो विकासमा एडीबीबाट प्राप्त सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयाे ।

त्यसैगरी एडीबीका अध्यक्ष कान्डाले नेपालसँगको ६ दशक भन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त समेत गर्नुभएकाे छ।