Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन संवाद

जारी युद्ध छिटो अन्त्य गर्ने बारेमा संवाद केन्द्रित भएकाे उल्लेख

39
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएकाे छ।

राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच करिब ९० मिनेट टेलिफोन वार्ता भएकाे हाे । राष्ट्रपति ट्रम्पले वार्ताका क्रममा युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनुभएको छ । रोयटर्सले आगामी हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा राष्ट्रपति ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनुभएको जनाएकाे हाे ।

छलफलमा राष्ट्रपति पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रुसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नुभएको छ । साथै उहाँले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयाे ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको उल्लेख गरिएकाे छ।

उहाँले दुवै जना शीर्ष नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेकाे बताउनुभयाे । राष्ट्रपति ट्रम्पले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनरले शान्ति वार्ताको पहललाई निरन्तरता दिने र आवश्यक परे मस्को भ्रमण गर्न सक्ने बताउनुभएको छ ।

रूसी राष्ट्रपति पुटिनले राष्ट्रपति ट्रम्पलाई मस्को भ्रमणका लागि आमन्त्रण गर्नुभएको हाे । रुसले युद्ध समाधानका लागि डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रणको आफ्नो अडान दोहोर्याइरहेको छ । युक्रेनले भने त्यसलाई अस्वीकार गर्दै आएको हाे ।