Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


थाइल्याण्डमा ११ वर्षीय बालकले चलाएको ट्रकले ठक्कर दिँदा ९ जना भिक्षुको मृत्यु


1.7k
Shares

काठमाडौं । थाइल्यान्डको मुकदाहन सहरमा बिहीबार ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा कम्तीमा १० जना बौद्ध भिक्षुको मृत्यु भएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ती बालकले आफ्ना आमाबुबाको अनुमतिबिना नै पिकअप ट्रक लिएर घरबाट निस्किएका थिए । करिब १० किलोमिटर गाडी चलाएपछि उनले सवारी साधनमाथिको नियन्त्रण गुमाए र तीर्थयात्रामा निस्किएका भिक्षुहरूको जुलुसलाई ठक्कर दिएका थिए ।

दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ११ बजे भएको हो । त्यस बेला भिक्षुहरूको समूह सडक किनारमा एक लाइनमा पैदल हिँडिरहेको थियो । स्थानीय उद्धार संगठनले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा तीव्र गतिमा आएको पिकअप ट्रकले भिक्षुहरूको जुलुसलाई ठक्कर दिएको देखिन्छ । बालक नाबालिग भएका कारण प्रहरीले हालसम्म उनीविरुद्ध कुनै मुद्दा दर्ता गरेको छैन । थाइल्यान्डको ९३ प्रतिशतभन्दा बढी जनसंख्याले बौद्ध धर्म मान्ने भएकाले त्यहाँ सार्वजनिक धार्मिक यात्रा र जुलुसहरू सामान्य मानिन्छन् ।

मुकदाहनका गभर्नर वोरायन बुन्नारातका अनुसार बिहीबार ३५ जना बौद्ध भिक्षु र पाँचजना सर्वसाधारण श्रद्धालु एउटा गुम्बाबाट अर्को गुम्बासम्म पैदल तीर्थयात्रामा निस्किएका थिए । यात्रा सुरु भएको केही समयमै यो दुर्घटना भएको हो ।

अधिकारीहरूका अनुसार पाँचजना भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो । अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेहरूको उपचार जारी छ । मुकदाहन अस्पतालले घाइतेहरूको उपचारका लागि सर्वसाधारणसँग तत्काल रक्तदान गर्न अपिलसमेत गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती बालक दुर्घटनाको समयमा घरमा एक्लै थिए । उनी बिरामी भएका कारण त्यस दिन विद्यालय गएका थिएनन् । यही अवसरमा उनले आमाबुबाको जानकारी र अनुमतिबिना नै पिकअप ट्रक लिएर घरबाट निस्किएका थिए ।

घरमा पिकअप ट्रक नदेखेपछि उनका अभिभावकले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनापछि प्रहरीले सवारी साधनलाई नियन्त्रणमा लिएर फरेन्सिक परीक्षणका लागि पठाएको छ ।