काठमाडौं । भेनेजुएलामा ३९ सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, ९७१ जना घाइते भएका छन् ।
उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । बुधबार साँझ ६:०४ बजे ७.२ म्याग्निच्युड र त्यसको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।
स्थानीय बासिन्दाहरूका अनुसार भूकम्पपछि करिब ६० सेकेन्डसम्म जमिन निरन्तर हल्लिरहेको महसुस गरिएको थियो । मुख्य भूकम्पपछि हालसम्म २० वटा परकम्प पनि दर्ता भइसकेका छन् ।
भूकम्प देशभर बिदा मनाइरहेको दिन आएको थियो । सन् १८२१ मा स्पेनविरुद्धको स्वतन्त्रता संग्राममा प्राप्त ऐतिहासिक विजयको वार्षिकोत्सवका अवसरमा विद्यालय, सरकारी कार्यालय तथा अधिकांश सार्वजनिक संस्थान बन्द रहेका थिए । त्यसैले धेरैजसो मानिस घरमै थिए ।
दुवै भूकम्पको केन्द्रविन्दु राजधानी काराकासबाट करिब २९० किलोमिटर पश्चिममा रहेको क्षेत्रलाई मानिएको छ ।
भूकम्पका कारण विभिन्न सहरमा भवनहरू भत्किएका छन् भने धेरै संरचनाहरू ढल्किएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । साथै, थप परकम्प आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्