Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


विज्ञहरुको निष्कर्षः नेपालमा पत्रकारविरुद्धको आक्रमण बढ्दै गइरहेको छ


0
Shares

काठमाडौं  । नेपालमा मानव अधिकार रक्षकको रूपमा रहेका पत्रकारहरूमाथि आक्रमण बढ्दै गएको विज्ञहरूले बताएका छन्।

काठमाडौंमा जारी मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देल तथा पत्रकार आरती राय लगायत वक्ताहरूले पछिल्लो समय पत्रकार असुरक्षित बन्दै गएको धारणा राखेका हुन्।

शिव गाउँलेले सत्ता परिवर्तनसँगै राजनीतिक दलहरू पत्रकारप्रति असहिष्णु हुने गरेको टिप्पणी गर्दै आफूहरूले उठाउने कमजोरी बाहिर आउने डरले पत्रकारलाई निशाना बनाइने प्रवृत्ति देखिएको बताउनुभयो। उहाँले पत्रकारलाई लोकतन्त्र र मानव अधिकारको “अन्तिम घेरा” को रक्षकका रूपमा व्याख्या गर्नुभयो।

डिजिटल अधिकार नेपालका प्रमुख सन्तोष सिग्देलले प्रविधिको विकाससँगै पत्रकारमाथि आक्रमणको स्वरूप पनि परिवर्तन भएको बताउँदै साइबर माध्यमबाट धम्की, उजुरी र दबाब सिर्जना गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। उहाँले विभिन्न राजनीतिक नेतृत्वले पत्रकारविरुद्ध साइबर क्राइमको प्रयोग गर्ने गरेको उदाहरणसमेत प्रस्तुत गर्नुभयो।

पत्रकार आरती रायले भने यौन हिंसा तथा संवेदनशील अपराधका विषयमा सूचना लिन जाँदा सरकारी निकायबाट ढिलासुस्ती, असहयोग र मानसिक दबाब झेल्नुपरेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार सूचना माग्दा पत्रकारमाथि नै प्रश्न उठाउने र हतोत्साहित गर्ने प्रवृत्ति देखिएको छ।

वक्ताहरूले पत्रकारमाथिको आक्रमण नियन्त्रण नगरे लोकतन्त्र र मानव अधिकारको संरक्षण कमजोर हुने चेतावनीसमेत दिएका छन्।