Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


बर्दिया र कैलालीका उखु किसान आन्दोलित, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र


234
Shares

केशव कोइराला, बर्दिया । बर्दिया र कैलालीका उखु किसानहरूले सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम भुक्तानी नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।

उनीहरूले आज बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
प्रमुख जिल्ला अधिकारी हमाललाई ज्ञापनपत्र बुझाउँदै किसान प्रतिनिधिहरूले निर्धारित ७ दिनभित्र अनुदान रकम भुक्तानी नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।

किसानहरूले समयमै समस्या समाधान नभए बर्दिया र कैलालीका हजारौं उखु उत्पादक प्रत्यक्ष प्रभावित हुने बताएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हमालले किसानहरूको माग सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजापुर नगरपालिका–५ बदालपुरमा सञ्चालित राजापुर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिमा उखु बिक्री गरेका ७ सय ८ जना किसानहरूको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा ७ दिनभित्र अनुदान रकम भुक्तानीको सुनिश्चित व्यवस्था गर्न माग गरिएको छ।

किसानहरूका अनुसार २०८२ साल पौष २२ गतेदेखि चैत्र १२ गतेसम्म उद्योगमा ४ लाख ८ हजार ४ सय ३८ दशमलव २८ क्विन्टल उखु बिक्री गरिएको थियो। उद्योगबाट प्रति क्विन्टल ६ सय २० रुपैयाँका दरले भुक्तानी प्राप्त भए पनि नेपाल सरकारले उपलब्ध गराउनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकम भने हालसम्म प्राप्त हुन सकेको छैन।

उखु किसान अनुदान सम्बन्धी कार्यविधि २०७५ को दोस्रो संशोधन २०७९ अनुसार प्राप्त हुनुपर्ने रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै निकासा नगर्दा किसानहरू आर्थिक समस्यामा परेको बताएका छन्।