Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई बंगुरका पाठा–पाठी वितरण


247
Shares

सविना अछामे, खोटाङ ।

हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरमा मासु उत्पादन वृद्धि गरी आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले किसानहरूलाई उन्नत जातका बङ्गुरका पाठा–पाठी वितरण गरेको छ।

कोशी प्रदेश सरकारको बङ्गुर प्रवर्द्धन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विभिन्न वडाका एक सय जना किसानलाई जेठ २९ गते ल्यान्ड्रेस, हेमसायर र ड्युरोक जातका बङ्गुरका पाठा–पाठी वितरण गरिएको हो। प्रत्येक किसानलाई एक/एक वटा पाठा वा पाठी प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत वडा नं. २ डिकुवाका २ जना, वडा नं. ३ च्यास्मिटारका १८ जना, वडा नं. ४ बडहरेका ७ जना, वडा नं. ५ दुर्छिमका ३१ जना, वडा नं. ६ मङ्गलटारका ६ जना, वडा नं. ७ हलेसी महादेवस्थानका १३ जना, वडा नं. ८ धितुङका ९ जना, वडा नं. ९ सल्लेका ५ जना, वडा नं. १० अर्खौलेका ६ जना र वडा नं. ११ राजापानीका ३ जना किसान लाभान्वित भएका छन्।

पशु विकास अधिकृत तथा पशुचिकित्सक अंकितकुमार साहका अनुसार कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार र किसानको ५०–५० प्रतिशत लगानी रहने व्यवस्था भए पनि किसानले व्यहोर्नुपर्ने रकम नगरपालिकाले नै बेहोरेको छ।

नगरपालिकाले गत वर्ष पनि एक सय वटा उन्नत जातका बङ्गुरका पाठा–पाठी वितरण गरेको थियो। अघिल्लो वर्ष वितरण गरिएका बङ्गुरबाट किसानहरूले राम्रो आम्दानी लिन सफल भएको र यस कार्यक्रमले व्यावसायिक बङ्गुरपालनलाई थप प्रोत्साहन पुग्ने विश्वास गरिएको साहले बताएका छन्।