Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पश्चिम एशियामा जारी युद्धका कारण रोकिएको नागढुंगा-नौबिसे सडक कालोपत्रे पुनः शुरू(तस्बिरसहित)

धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै

13
Shares

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः शुरु भएको छ ।

पश्चिम एशियामा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो । सडक निर्माण व्यवसायी सहदेव खड्काकाअनुसार बिटुमिनको अभावका कारण केही समय ठप्प प्रायः बनेको सडकको काम आयातमा भएको सामान्य सुधारसँगै पुनः सञ्चालनमा ल्याइएको हो ।

हाल अत्यन्तै संवेदनशील र सवारी चाप बढी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ । यद्यपि लामो समयको प्रतिक्षापछि कच्चा पदार्थ उपलब्ध भएपनि प्रतिकूल मौसम (वर्षा) का कारण कामलाई सोचे जस्तो गति दिन कठिनाइ भइरहेको जनाइएकाे छ। यो सडक खण्ड संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबै भन्दा व्यस्त मार्ग हो ।

दैनिक हजारौं सवारी साधन गुड्ने यस सडकमा कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। पश्चिम एशियामा देशहरूमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र बिटुमिन जस्ता निर्माण सामग्रीको विश्वव्यापी आपूर्ति श्रृङ्खला खलबलिँदा नेपालका अधिकांश विकास निर्माणका आयोजनाहरू प्रत्यक्ष मारमा परेका छन् ।

धार्के बजार क्षेत्रमा पुल तथा सडक कालोपत्रेको कामले गति लिएसँगै स्थानीय व्यवसायी र सर्वसाधारणले केही राहत महशुस गरेका छन् ।