
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय मुलुकमा उदाउन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य, तर्कहीन र विध्वंसात्मक प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ।
शनिबार काठमाडौंमा आयोजित नयाँ शक्तिको स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष राउतले नयाँ पुस्तामा विचार, सिद्धान्त र राजनीतिक दर्शनभन्दा ‘सेलेब्रिटी संस्कृति’ तथा विध्वंसप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो। उहाँले राजनीतिमा विचार, नैतिकता र उत्तरदायित्वको प्रधानता हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले वर्तमान राजनीतिक अवस्थालाई ‘विचारशून्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा बढ्दो गालीगलौज, आक्रामक अभिव्यक्ति र तर्कहीन बहसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको धारणा राख्नुभयो।
संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठ्दै गएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने लोकतान्त्रिक अभ्यासलाई समेत अनावश्यक ठान्ने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको बताउनुभयो।
अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको ‘डोजर संस्कृति’को पनि आलोचना गर्नुभयो। अवैध संरचना वा जग्गाको समस्या समाधान गर्ने नाममा अर्बौं मूल्य बराबरका भौतिक संरचना भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश भएको उहाँको तर्क थियो। उहाँले अवैध सम्पत्ति वा संरचनाको व्यवस्थापनका लागि राज्यले राष्ट्रियकरणलगायतका वैकल्पिक उपाय अपनाउन सक्ने धारणा राख्नुभयो।
पुरानो पुस्ताका नेताहरूले दशकौं जेलनेल भोग्दै जनताको सेवामा समर्पित जीवन बिताएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्यांकन गर्न छाडेको उहाँको विश्लेषण थियो। जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताभन्दा टाढाबाट लोकप्रियता हासिल गर्ने प्रवृत्तिप्रति आकर्षण बढेको भन्दै उहाँले त्यसलाई ‘डार्क साइकोलोजी’ र सामाजिक सञ्जालका एल्गोरिदमको प्रभावको रूपमा व्याख्या गर्नुभयो।
उहाँले आफूहरू प्रविधि र नयाँ पुस्ताको सञ्चार शैलीसँग पर्याप्त रूपमा अनुकूल हुन नसक्दा पछाडि परेको स्वीकार गर्दै अब समयअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
विचार र सिद्धान्तविहीन राजनीतिले देशलाई सही दिशा दिन नसक्ने उल्लेख गर्दै अध्यक्ष राउतले राजनीतिक दलहरूभित्र गम्भीर आत्मसमीक्षा र वैचारिक बहसको आवश्यकता रहेको बताउनुभयो।










प्रतिक्रिया दिनुहोस्