संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
शुक्रबार (जेठ २२) रातिदेखि लगातारको वर्षासँगै खसेको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । पहिरोले पाँचपन–चैनपुरखण्डको करिब १५ मिटर सडक बगाएको उनले बताए ।
कल्लेरी क्षेत्रमा आएको चिउंखुवा खोलाको बाढीले समेत सडकमा ठूलो क्षति पुर्याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गरे ।
उनका अनुसार, वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण शनिबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गरे ।
बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक आजैदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्