काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरू पग्लिने र खानेपानीका मुहानहरू सुक्ने क्रम बढेको बताउनुभयाे । उहाँले हिमालको सुरक्षामा विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।
नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान र गरिबी निवारणका लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताउनुभयो । सगरमाथा आरोहण केवल भौतिक उपलब्धि मात्र नभइ आन्तरिक यात्रा र मानवीय शाहसको उच्चतम प्रतिक भएको बताउनुभएकाे छ ।
मन्त्री पौडेलले संसारका सबै धर्ममा तीर्थाटनको विशेष महत्व रहेको उल्लेख गर्दै हिमाल आरोहणलाई पनि एक प्रकारको पवित्र धार्मिक यात्राको संज्ञा दिनुभयो । नेपाललाई विश्वमा चिनाउने सबैभन्दा सशक्त माध्यम हिमाल नै भएको दावी समेत उहाँले गर्नुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्