Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विभेद गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा विरोध प्रदर्शन


0
Shares

काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् ।

सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीहरूले जनकपुरधामको जनकचोकमा नेपाल सरकार तथा स्वास्थ्यमन्त्रीको पुत्ला दहन गरी विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले साढे तीन दशकपछि दरबन्दी थप हुनु खुशीको कुरा भएपनि एचए, सीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताए । उनले वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको आरोप लगाए ।

अधिकारीले सरकारले तत्काल यो निर्णय नसच्याए र आफ्ना मागहरू सम्बोधन नगरे आगामी वैशाख २८ गतेदेखि काठमाडौँमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

सरकारले दुई दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा ९ सय ७७ जना नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई अर्थ मन्त्रालयले गत बुधवार स्वीकृत गरिसकेको छ । तर उक्त दरबन्दीमा केही निश्चित समूहलाई मात्र समेटिएपछि आधारभूत तहका स्वास्थ्यकर्मीहरू आफूहरूमाथि अन्याय भएको भन्दै सडकमा उत्रिएका हुन् ।