नवलपरासी । नवलपरासी जिल्ला अदालतले जिउँदो व्यक्तिको मृत्यु भएकाे दर्ता प्रमाणपत्र बनाइदिने कार्यमा संलग्न भएको अभियोगमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ ।
सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षिय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै मृत्यु भएकाे दर्ता प्रमाणपत्र बनाइएपछि उनीहरुमाथि ‘झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरे/गराएको सम्बन्धी कसुर’ मा मुद्दा दायर गरिएको थियो । साेही प्रकरणमा संलग्न ११ मध्ये दुई जना धरौटीमा रिहा भएकाे र ६ जना फरार रहेका छन् ।
पुर्पक्षका लागि थुनामा पठाइएकामा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मिया रहेको अदालतका सूचना अधिकारी शाखा अधिकृत भेषराज खनालले जानकारी दिनुभयाे । उनीहरुले झुठा विवरणका आधारमा मृत्यु दर्ताको निवेदन दिने, सिफारिस गर्ने र प्रमाण पत्र जारी गरेका कारण थुनामा पठाइएको हो । त्यसैगरी प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ परेका इशानेसा मिया र छोटे खाँ ५० हजार धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा हुने र फरार सबै मुचुल्कामा साक्षी बस्ने हुन् ।
के हो घटना ?
पुर्पक्षका लागि थुनामा पठाइएका ३१ वर्षिय तारिख मियाका बाबु जमालुद्दिन अंसारीको २०६० साल जेठ ३० गते मृत्यु भएको थियो । बाबुको नामसँग मिल्ने सोही ठाउँका जीवित व्यक्ति जमालुद्दिन मुसलमानको मृत्यु भएको भन्दै वडा मा निवेदन दिएका थिए । आफ्नै मृत्यु दर्ता बनाएको थाहा पाएपछि जमालुद्दिनले प्रहरीका जाहेरी दिएपछि उक्त रहस्य खुलेको हो । मुसलमान समुदायहरुले नामको पछाडि अंसारी, मिया र मुसलमान लगायतका थर लेख्ने प्रचलन छ ।
त्यसैको फाइदा उठाउँदै तारिखले जीवित व्यक्तिको नागरिकता र आफ्नो जन्मदर्ताको प्रतिलिपि संलग्न गरी मृत्यु दर्ताका लागि २०८२ साल कात्तिक २३ गते वडामा निवदेन दिएका थिए । सर्जिमनका आधारमा वडा सचिवले मंसिर महिनामा जीवित व्यक्तिको मृत्यु दर्ता गरिदिएका हुन्। तारिखका मृतक बाबुको नागरिकता थिएन तर आफ्नो नागरिकता बनाउनका लागि तारिखले जीवित व्यक्तिको मृत्यु भउकाे दर्ता गरेको अदालतले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्