१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


निर्मला पन्त हत्या प्रकरणबारे स्थानीय भन्छन्ः सरकारप्रति नै शंका छ (भिडियो)


0
Shares

दुर्गा उपाध्याय/ईमेज:

कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्या बारेमा छानविन गर्न गृहमन्त्रालयले गठन गरेको उच्चस्तरिय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा कंचनपुरका स्थानीयबासी चिन्तित भएका छन् ।

छानविन समितिले के तथ्य पत्ता लगायो भन्ने बारेमा जानकारी पाउनुपर्ने उनीहरुको माग छ ।

निर्मलाको घटनाका बारेमा छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिले मंगलबार सरकारलाई प्रतिवेदन पेश गरेको छ ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीसहितको समितिले सरककारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक नभएपछि आमचासोको विषय बनेको छ ।

जनचाहनाअनुरुप गठित छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नभएपछि स्थानीयबासिन्दा सरकारप्रति नै सशंकित बनेका छन् ।

एकातर्फ निर्मलाको घटनामा प्रहरीको छुट्टाछुट्टै टोलीले अनुसन्धान गर्दा पनि दोषि पत्ता नलाग्नु र अर्कातर्फ सरकारले समेत छानविन समितिको प्रतिवेदन सार्वजनिक नगर्नुले यहाँका जनतामा थप अन्यौलता छाएको छ ।

यता, नयाँ नेतृत्वसँगै कञ्चनपुर प्रहरीले भदौ ८ गतेदेखि प्रारम्भिक चरणबाटै अनुसन्धान सुरु गरेको थियो ।

घटनास्थलकै बारेमा अन्यौलमा रहेको प्रहरीले पछिल्लो समय घटनास्थलका केही खाका तयार पारेको जनाएको छ ।

ठोस प्रमाण नजुटे पनि अनुसन्धानको दायरा भने साँघुरो बनाउँदै लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतको भनाइ छ ।

अनुसन्धानका लागि सहज वातावरण बनाउने भन्दै आन्दोलनलाई स्थगित गरेका स्थानीयहरुले सरकारको पछिल्लो कदममाथि शंका गर्न थालेका छन् ।

त्यसैले आमनागरिकको चासो र शंकालाई हटाउनकै लागि भएपनि सरकारले बेलैमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने देखिन्छ ।