काठमाडाैं । धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ ।
नेपालको धितोपत्र बजारको कूल पूँजीकरण गत फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बजार पूँजीकरण ४ हजार ५ सय ४३ अर्ब ८१ करोड रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेप्से परिसूचक पनि बढेको छ । २०८१ फागुन मसान्तमा २ हजार ७ सय ३६ दशमलव ४९ अंकमा रहेको नेप्से सूचकाङ्क २०८२ फागुन मसान्तमा बढेर २ हजार ८२ सय ० दशमलाव ४५ पुगेको छ ।
यद्यपि बजार पूँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपात भने केही घटेको हाे । २०८१ फागुनमा बजार पूँजीकरण जीडीपीको ७९। दशमलव ५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७ दशमलव ६९ प्रतिशतमा झरेको छ ।
यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको हाे। २०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनी २ सय ८६ पुगेका छन् । जबकी २०८१ फागुनमा यस्तो संख्या २ सय ६८ थियो । सूचीकृत कम्पनीमध्ये १ सय ३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन् ।
बजार पूँजीकरणको हिस्सामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको प्रभुत्व देखिएको छ । यी संस्थाहरूको हिस्सा ५२ दशमलव २ प्रतिशत रहेको हाे । त्यसपछि जलविद्युत कम्पनीको १५ दशमलव ९ प्रतिशत, लगानी कम्पनीको ७ दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७ दशमलव २ प्रतिशत, व्यापारिक संस्थाको ४ दशमलव ४ प्रतिशत, होटल क्षेत्रको ३ दशमलव १ प्रतिशत र अन्य समूहको ९ दशमलव ८ प्रतिशत हिस्सा रहेको छ ।
नेप्सेमा सूचीकृत कूल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य ९ सय ११ अर्ब ९९ करोड पुगेको हाे । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा धितोपत्र बजारमा थप ७० अर्ब ४६ करोड बराबरका धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ३६ अर्ब २८ करोड बराबरको साधारण सेयर, १२ अर्ब ५९ करोड बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर र ९२ करोड ५० लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।
साेही अवधिमा नेपाल धितोपत्र बोर्डले पनि विभिन्न धितोपत्र सार्वजनिक निष्कासनका लागि ३७ अर्ब १ करोड बराबरको अनुमति दिएको हाे । बोर्डले २३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, ८ अर्ब ७० करोड बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद सेयर,२० करोड बराबरको डिबेन्चर र ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको छ ।








प्रतिक्रिया दिनुहोस्